काठमाडौँ - सोमबार काठमाडौँको स्टार मलमा रहेको ‘कमेडी क्लब विथ च्याम्पियन्स’को स्टूडियोमा कलाकारहरुको जमघट देखियो। असोजमा रिलिज हुन लागेका २ नेपाली फिल्मका कलाकारहरु आफ्नो फिल्मको प्रमोशनका लागि लोकप्रिय शोमा पुगेका थिए।
केही दिन अगाडि मात्र २६ औं भाग सफलतापूर्वक सम्पन्न गर्दै केक काटेको यो शोको टिम नेपाली फिल्मका कलाकारहरु र आम दर्शकले देखाएको मायाले उत्साहित छ।
नेपाल टेलिभिजनबाट प्रशारण हुने यो शोको युट्युबमा पनि हरेक भाग १० लाख भन्दा बढी पटक हेरिन थालेपछि फिल्मीकर्मीका लागि फिल्म प्रमोशनको हब बन्न थालेको हो। गत सोमबार असोज १४ गतेबाट रिलिज हुन लागेको फिल्म ‘बाबरी’का मुख्य कलाकारहरु अदिती वुढाथोकी, धिरज मगर र धिरज नाडकर फिल्म प्रमोशनका लागि कमेडी शोमा पुगे।
नायक धिरज मगरले लोकप्रिय शो भएकाले पनि फिल्म प्रमोशनको राम्रो प्लेटफर्म भएको बताए। यस्तै, गत सोमबार नै असोजको २८ गतेबाट रिलिज हुन लागेको फिल्म ‘हिजो आजका कुरा’का कलाकारहरु सन्तोष पन्त, ऋचा शर्मा र रीमा विश्वकर्मा फिल्म प्रमोशनका लागि उक्त शोमा पुगेका थिए।
शोका संचालक विशाल भण्डारीले मिडिया कुराकानीमा भने-‘नेपाली फिल्म क्षेत्रले हामीलाई खुबै माया दिएको छ। विशेषगरि, निर्माताहरुले फिल्म प्रमोशनका लागि १ महिना अगाडिबाट नै समय लिन थाल्नुभएको छ। दर्शकले दिनुभएको माया र फिल्म क्षेत्रले दिएको विश्वासले उत्साहित छौं।’
यो शो असारको अन्तिमसम्म चल्नेछ। एकातिर, फिल्म रिलिजको क्यालेन्डर बाक्लो हुनु र अर्कोतिर प्रमोशनका लागि मेकरले नयाँ नयाँ प्लेटफर्म खोज्नुले पनि ‘कमेडी क्लब विथ च्याम्पियन्स’ फिल्मकर्मीका लागि हब बन्न थालेको हो।