काठमाडौँ - आम जनता पार्टी (आजपा) का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले केही सञ्चार माध्यमले भ्रामक समाचार लेखेर सुनियोजित रूपमा चरित्र हत्या गर्ने षडयन्त्र गरेको आरोप लगाएका छन्। रौतहट क्षेत्र नम्बर ३ का संघीय सांसद साहले गत पुस १० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री पदमा नियुक्त गर्न समर्थन गरेका थिए। उनले हालसम्म समर्थन कायम राखेका छन्। तर केही सञ्चार माध्यममा अध्यक्ष साहले प्रतिपक्षी बेन्च रोजेको समाचार सम्प्रेषण भएपछि सांसद साहले उक्त समाचारको खण्डन गर्दै सार्वजनिक रूपमा माफी माग्न ध्यानाकर्षण गराएका छन्।
अध्यक्ष साहले आफ्नो फेसबुकमार्फत उक्त समाचार भ्रमपूर्ण र गौर जिम्मेवार भएको टिप्पणी गरेका छन्। ‘मेरो नाम जोडी संसद्को प्रतिपक्षमा बस्ने भन्ने आएको संसद् सचिवालय र विभिन्न सञ्चार माध्यमको भ्रमपूर्ण, कपोकल्पित एवं गैरजिम्मेवारपूर्ण समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। यसरी मेरो चरित्र हत्याको दुष्प्रयास गर्नु खेदजनक विषय रहेकोले शीघ्र सार्वजनिक रूपमा माफी माग्दै तत्काल स्टेटमेन्ट/समाचारमा सुधार गर्न माग गर्दछु,’ उनले भनेका छन्।