काठमाडौँ - नेपाल सरकारले तारागाउँ विकास समितिको सदस्य सचिवमा नारद लुइँटेललाई नियुक्त गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले रिक्त रहेको तारागाउँ विकास समितिको सदस्य सचिवमा आज लुइँटेललाई नियुक्त गरेका हुन्। मन्त्रिस्तरीय निर्णयबाट उनलाई चार वर्षका लागि नियुक्त गरिएको बताइएको छ।
आज नियुक्त भएका लुइँटेल यसअघि पनि एक कार्यकाल सदस्य सचिव भइसकेका छन्। लुइँटेललाई सदस्य सचिवमा नियुक्त गरिएपछि हायत रिजेन्सी होटलले गैरकानूनीरूपमा अतिक्रमण गरेको जग्गा फिर्ता ल्याउन सहज हुने विश्वास गरिएको छ। लुइँटेलले यसअघिको आफ्नो कार्यकालमा हायत रिजेन्सी होटलले अतिक्रमण गरेको १५० रोपनी सरकारी जग्गाको विवरण सार्वजनिक गरी कारवाही प्रक्रिया अघि बढाएका थिए।