काठमाडौँ- गहुँ पसाउने बेला रासायनिक मलको अभाव भएपछि किसान चिन्तामा परेका छन्। अहिले एक लाख ३० हजार टन रासायनिक मलको माग छ। तर सरकारी गोदाम रित्तै छन्।
चालु आर्थिक वर्षका लागि तीन लाख ९ हजार टन मल खरिदको स्वीकृति भए पनि मल आउने टुङ्गो छैन। कृषि मन्त्री महिन्द्र राय यादवले यसअघि जीटूजी प्रक्रियाबाट मल ल्याउन पहल भइरहेको बताए पनि प्रक्रिया अगाडि बढेको छैन।
यसअघि गहुँ छर्ने बेलामा समेत मल नभएपछि किसानले त्यत्तिकै गहुँ छरेका थिए। तर अहिले बाला पसाउने बेला पनि मलको अभाव कायमै छ। दुई सरकारी कम्पनी कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सहकारीमार्फत किसानलाई मल बिक्री वितरण गर्छन्। तर कम्पनीमै मल नभएपछि सहकारीमा मल छैन।
मल आपूर्तिमा समस्या भएपछि चैते धानमा समेत रासायनिक मल अभाव हुने निश्चित छ। अन्तर्राष्ट्रिय बजारमै मलको मूल्य उच्च भएको र अभाव समेत रहेकाले आपूर्ति हुन नसकेको कृषि सामग्री कम्पनीले जनाएको छ। नेपालमा क्षेत्रफल एवम् उत्पादनका हिसाबले धान र मकैपछि गहुँ प्रमुख खाद्यान्न बाली मानिन्छ।