काठमाडौँ - ‘प्रेमगीत ३’लाई चिनियाँ भाषामा डब गर्दै चीनमा समेत रिलिज गरिने भएको छ।
प्रदीप खड्का स्टारर फिल्मको चीन रिलिजबारे बुधबार मुम्बईमा वितरण कम्पनीहरु यूएफओ, मधु इन्टरटेनमेन्टसहित नेपाली र भारतीय निर्माताबीच पहिलो चरणको बैठक बसेको छ।
निर्माता सन्तोष सेनले चिनियाँ भाषामा रिलिज गर्न तयारी सुरु भएको बताएका छन्। उनका अनुसार यूएफओले चिनियाँ हलहरुमा फिल्म प्रदर्शन गर्नेछ।
‘प्रेमगीत ३’ को समुद्रपार वितरण अधिकार यूएफओ र मधु इन्टरटेनमेन्टले लिएका छन्। चीनमा हिन्दी र अंगे्रेजी भाषा प्रयोगमा नआउने भएकाले चिनियाँ मन्डारियन भाषामै डब गर्नुपर्ने छ।
‘फिल्मको कथावस्तु र हिमाली क्षेत्रको लोकेसन सेटअपले चिनियाँ दर्शकलाई पनि आकर्षित गर्न सक्ने देखिएकाले चिनियाँ पक्षले फिल्म प्रदर्शनको लागि आग्रह गरेपछि बैठक बसेको हो,’ सेनले भने।
चिनियाँ भाषामा डब गर्न केही समय लाग्ने भएकाले १-२ महिना ढिलो गरेर प्रदर्शन गर्ने तयारी भएको सेनले बताएका छन्। चीन रिलिजबारेको दोस्रो बैठक २-३ दिनमै पुनः बस्ने भएको छ।
चीन विश्वको सबैभन्दा ठूलो फिल्म बजार हो। सन् २०२१ को आँकडाअनुसार चीनमा फिल्मको कुल बजार ७.३ बिलियन अमेरिकी डलर छ। ‘प्रेमगीत ३’ले नेपाली फिल्मको अन्तर्राष्ट्रियकरणमा सघाउ पुर्याउने आशा निर्माता सेनले व्यक्त गरेका छन्।