दमक - नेपाल आदिवासी जनजाति महासङ्घ समन्वय परिषद् दमकले सुरु गरेको आदिवासी सङ्ग्रहालय निर्माण अलपत्र बनेको छ।
महासङ्घले दमक नगरपालिका–८ बालुवाटार क्षेत्रमा रहेको नौ कट्ठा जमिनमा पाँच वर्षदेखि सङ्ग्रहालय निर्माण थालिए पनि बजेट अभावका कारण सङ्ग्रहालय अलपत्र बन्न पुगेको हो।
महासङ्घले स्थानीय तथा नगरपालिकासँग सहयोग जुटाएर जग्गाको व्यवस्थापन गरेको थियो। तर जग्गा प्राप्तिसँगै प्रारम्भिक चरणका काम सुरु भए पनि बजेटसँगै नामकरण विवादले निर्माणाधीन योजना अलपत्र बन्न पुगेको आदिवासी अगुवाले बताएका छन्।
नगरपालिकाले एकतर्फी रुपमा सङ्ग्रहालयलाई दुई वर्षअघि ‘बहुजातीय सङ्ग्रहालय’ नामकरण गरी भाँजो हाल्ने काम गरेको आदिवासी जनजातिका अगुवाको तर्क छ। महासङ्घ झापा जिल्ला समन्वय परिषद्का पूर्वाध्यक्ष पारशमणि राईले महासङ्घले सुरु गरेको कामले सुरुवात हुनै नपाउँदा नगरपालिकाले त्यसमा भाँजो हाल्ने काम शुरु गरेको आरोप लगाए। आदिवासी जनजातिको कला, संस्कृतिको संरक्षण गर्न महासङ्घले सङ्ग्रहालय बनाउने लक्ष्य राखेर काम सुरुवात गरिए पनि नगरपालिकाले भाँजो गरेर काम प्रभावित बनाएको उनको भनाइ छ।
दमक नगरपालिकाले दमक –९ स्थित प्रधान टोलमा निर्माणाधीन फाल्गुनन्द सभागृहको नाम पनि यसअघि नै परिवर्तन गरी दमक सभागृह बनाएको छ। त्यहाँ स्थानीयवासीले उपलब्ध गराएको करिब एक बिघा जमिनमा पाँच वर्षदेखि प्रदेशकै गौरवका रुपमा सभागृह निर्माणाधीन अवस्थामा छ।
निर्माणको आधा काम सकिएपछि नगरपालिकाले एकतर्फी रुपमा सभागृहको नाम एकाएक परिवर्तन गरेको थियो। सभागृहको नाममा आदिवासी जनजातिहरुबाट विरोध आए पनि नगरपालिकाले त्यसबारे बेखबर बनेको छ।
जनता समाजवादी झापाका अध्यक्ष दीपेनवाला राईले स्थानीय सरकारले आदिवासी जनजातिको भावनामाथि खेलबाड गर्न उद्यत भएको आरोप लगाउँदै आदिवासी जनजातिको पहिचानमाथि आक्रमण गर्ने, बलजफ्ती गर्ने कार्य कसैले गर्नु नहुने बताए।