खुदुनाबारी महिला गोल्डकपको उपाधि धनकुटालाई

विर्तामोड - तेस्रो खुदुनाबारी गोल्डकपको उपाधि धनकुटा महिला फुटबल क्लबले हात पारेको छ। प्रदेश १ स्तरीय महिला फुटबल प्रतियोगिताको फाइनलमा टाईब्रेकरमा आयोजक टिम जुनतारा महिला फुटबल क्लब झापालाई ३-० गोल अन्तरले पराजित गर्दै गोल्डकपको उपाधि धनकुटाले जितेको हो।

अर्जुनधारा नगरपालिका-३ स्थित प्रस्तावित प्राकृतिक रङ्गशालामा सम्पन्न निर्धारित ७० मिनेटको खेलमा दुवै टिमले १-१ गोल गरेपछि बराबरी भएको खेल टाइब्रेकरमा धकेलिएको  थियो। खेलको ३४ मिनेटमा धनकुटाले पाएको फ्रिकिकको सदुपयोग गर्दै जुनतारको पोष्टमा धनकुटाकी टिम कप्तान अन्जना थुलुङ राईले गरेको प्रहार गोलमा परिणत भएको थियो। तर, जुनतारले इन्जुरी टाइममा पाएको फ्रिकिकको अवसरलाई सन्जना राई (सन्जु)ले प्रहार गर्दा धनकुटाकी गोलकिपर सजिया क्षेत्रीले बचाउ गर्न नसकेपछि खेल बराबरीमा सकियो।

टाईब्रेकरमा धनकुटाकी गोलकिपर सजिया क्षेत्री, कप्तान अन्जना थुलुङ राई र समीक्षा पौडेलले गरेको प्रहार जुनताराकी गोलकिपर जसदा लावतीले बचाउ गर्न सकिनन्। सन्ध्या रम्तेलको प्रहार भने उनले विफल बनाएकी थिइन्।

जुनताका खेलाडी अन्जना राई, लक्ष्मी श्रेष्ठ र नेहा चौधरी तिनै जनाको प्रहार भने गोलमा परिणत हुन नसक्दा टिमले पराजय भोगे। अन्जनाको प्रहार धनकुटाकी गोलकिपर सजिया क्षेत्रीले विफल बनाइ भने लक्ष्मी र नेहाले प्रहार गरेको गोल पोष्टमा ठोकिएर फर्किएको थियो।

जितसँगै विजेता धनकुटाले नगद १ लाख १ हजार १११ रुपियाँसहित ट्रफी हात पारेको छ। उपविजेता बनेको आयोजक टिम जुनताराले नगद ५५ हजार ५५५ रुपियाँसहित ट्रफी पाएको छ। प्रतियोगितामा बेस्ट गोलकिपर धनकुटाकी सजिया क्षेत्री, बेस्ट डिफेन्स जुनताराकी सुस्मिता चौधरी, हाइ स्कोरर जुनताराकी अनिता लम्जेल र वमेन अफ दी टुर्नामेन्ट धनकुटाकी कप्तान अन्जना थुलुङ राई घोषित हुँदै नगद ५ हजार रुपियाँ पाएका छन्।

त्यस्तै, प्रतियोगितामा जाइरिङ यूथ प्लेयरको उपाधि आयोजक जुनताराकी कप्तान ममता राउतले प्राप्त गरिन्। उनले नगर ५ हजार हात पारिन्। विजयी तथा उपबिजयी महिला फुटबल टिमलाई प्रदेश सरकारका कृषिमन्त्री झलकसिंह दर्लामीले नगद र ट्रफि प्रदान गरे।

विगतमा २ वटा संस्करणमा पुरुष फुटबल प्रतियोगिता सञ्चालन भएको खुदुनाबारी गोल्डकपको तेस्रो संस्करणमा यो वर्ष महिला फुटबल प्रतियोगिता सञ्चालन भएको हो। यसअघि २०७४ र ०७५ मा खुदुनाबारी गोल्डकपको पहिलो र दोस्रो संस्करण सम्पन्न भएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×