काठमाडौँ - काठमाडौँमा जारी छैटौं संस्करणको महिला साफमा आज समूह ‘ए’ को समूह चरणका अन्तिम दुई खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा माल्दिभ्स र पाकिस्तान भिड्नेछन्। खेल दिउँसो १ बजेबाट सुरु हुनेछ।
प्रतियोगिताबाट बाहिरिसकेका यी दुवै टोली आज जितका साथ प्रतियोगिताको अन्त्य गर्ने सोचमा छन्। यस्तै, भारत र बंगलादेशबीच हुने दोस्रो खेल साँझ साढे ५ बजेबाट सुरु हुनेछ।
दुवै टोली आज जित निकाल्दै समूह विजेताका रूपमा सेमिफाइनल पुग्ने योजनामा रहेका छन्। भारत र बंगलादेश सेमिफाइनलमा प्रवेश गरिसकेका छन्। यो खेलले समूह विजेता र उपविजेता तय गर्नेछ।
यसअघि भारतले पाकिस्तानलाई ३-० र माल्दिभ्सलाई ९-० ले तथा बंगलादेशले माल्दिभ्सलाई ३-० र पाकिस्तानलाई ६-० ले हराएका थिए।
समूह ‘बी’ बाट नेपाल र भुटानले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन्।