काठमाडौँ - केभिन डे ब्रुएन र रियाद महरेजले गरेको दुई/दुई गोलको मदतले म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई ४–१ ले हरायो। एतिहाडमा प्राप्त यस जितपछि सिटीले लिग तालिकामा छ अंकको अग्रता खोलेको छ। हारले दुई म्यानचेस्टर क्लबीचको अन्तर भने २२ अंक भएको छ र यसले अर्को सिजन युरोपेली च्याम्पियन्स लिग खेल्ने युनाइटेडको सम्भावनामा पनि ठूलो धक्का पुगेको छ।
यो नतिजापछि युनाइटेड चौथो स्थानमा रहेको आर्सनल भन्दा एक अंकले पछाडि रह्यो। आर्सनलले यस अगाडि वाटफोर्डलाई ३–२ ले हराएको थियो। युनाइटेडले आर्सनलको तुलनामा तीन खेल बढी खेलेको पनि छ।
लिग तालिकाको शीर्ष स्थानमा भने सिटीले दोस्रोमा रहेको लिभरपुलमाथि यस अघिको तीन अंकको अग्रतालाई अझ बढाउन सफल रह्यो। सिटीको अब २८ खेलबाट ६९ अंक भएको छ।