काठमाडौँ - नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा पछिल्लो चार वर्षमा ५० किलोमिटर सडक निर्माण गरिएको छ।
चार वर्षमा ७० किलोमिटर सडक ग्राभेल तथा ५५ किलोमिटर सडक कालोपत्र गरिएको नगरप्रमुख छत्रराज पौडेलले जानकारी दिए। नगरभित्र १२६ किलोमिटर सडकको स्तरोन्नति गरिएको छ। आफ्नै स्रोतसाधनबाट तीन पक्की पुल, तीन झोलुङ्गे पुल र कल्भर्ट निर्माण गरिएको उनले बताए। नगरप्रमुख पौडेलका अनुसार नगरको ९५ प्रतिशत जनसङ्ख्यालाई सफा खानेपानीको व्यवस्था गरिएको छ।
नगरपालिकाभित्र १३ आधारभूत स्वास्थ्य भवन निर्माण, वडा कार्यालय र विद्यालय भवन निर्माण अन्तिम चरणमा पुगेको पौडेलले बताए। दुई रङ्गशाला निर्माणका चरणमा छन्। प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पछिल्ला दुई आर्थिक वर्षमा ३७४ जनालाई रोजगारी प्रदान गरिएको छ। नगरभित्र साना र ठूला गरी २७८ उद्योग सञ्चालित छन्। नगरभित्रका ६० वर्षमाथिका दुई हजार १४१ जनालाई ज्येष्ठ नागरिक परिचयपत्र, ६४१ जनालाई अपाङ्गता परिचयपत्र वितरणका साथै ५०० अपाङ्गता भएका व्यक्तिलाई ह्विलचियर र ट्राइसाइकल वितरण गरिएको पौडेलले बताए।
हालसम्म गैँडाकोटमा कूल ३२१ किलोमिटर सडक निर्माण गरिएको छ।