भुवन केसीले मागे ‘सुरक्षा मापदण्ड’ पूरा गरेर नाइट शो चलाउन चाहने फिल्म हलको सूची

काठमाडौँ - चलचित्र विकास बोर्डले ‘शान्तिसुरक्षाको मापदण्ड’ पूरा गरेर रात्रिकालीन शोमा फिल्म प्रदर्शन गर्न चाहने हलहरुको सूची मागेको छ।

बोर्ड अध्यक्ष भुवन केसीले सर्तसहित नाइट शो प्रदर्शनको अनुमति दिन सकिने बताएका छन्। राति १ बजेसम्म फिल्म प्रदर्शनको अनुमति माग्दै चलचित्र संघले निवेदन दिएको सन्दर्भमा केसीको यस्तो प्रतिक्रिया आएको हो।

‘शान्ति सुरक्षाको मापदण्ड पूरा गरेर उहाँहरुले हलहरुको सूची दिनुपर्छ। त्यसको पूर्वसर्त भनेको शान्तिसुरक्षा कायम हुनुपर्छ भन्ने हो,’ केसीले भने, ‘सूची आएपछि पहलका लागि जिल्ला प्रशासन कार्यालयमा पठाउँछौं।’

अघिल्ला अध्यक्ष दयाराम दाहालले राति ११ बजेसम्म शो चलाउन दिइने र त्यसपछि चलाउनुपर्ने भए जिल्ला प्रशासन कार्यालयको अनुमति चाहिने निर्णय गरेका थिए। दाहालको उक्त निर्णयलाई भुवन केसी नेतृत्वको बोर्डले कार्यान्वयनमा ल्याएको छ।

दशैंको मुखमै व्यवसायमा अवरोध गरेको भन्दै चलचित्र संघ आक्रोशित बनेको छ। आइतबार लेट नाइट शोको अनुमति दिनुपर्ने माग गर्दै संघले बोर्डमा निवेदन दिएको थियो। चलचित्र संघका सदस्य सुरेन्द्र थापाले बोर्डले सूची मागेको विषयमा संघको आगामी बैठकमा गम्भीरतापूर्वक छलफल हुने बताएका छन्। ‘कुन-कुन हललाई रात्रि शोको अनुमति दिने भन्ने कुरा संघले छलफल गरेर टुंग्याउँछ,’ उनले भनेका छन्।

शोको यो व्यवस्थालाई लिएर पछिल्लो समय विवाद चर्किरहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×