विश्वकप लिग-२ मा नेपालका आदिलले उत्कृष्ट बलिङ गरेपछि अमेरिकाविरुद्धको खेल टाई

काठमाडौँ - आईसीसी विश्वकप लिग २ अन्तर्गत अमेरिकाका जारी त्रिकोणात्मक सिरिजमा शनिबार राति भएको नेपाल अमेरिकाको खेल टाई भएको छ।

अमेरिकाको टेक्ससस्थित मोसा क्रिकेट मैदानमा आइतबार बिहान सम्पन्न खेल टाइ भएको हो। अन्तिमको दुई बल बाँकी रहेको अवस्थामा अमेरिकालाई जितका लागि एक रन चाहिएको हुँदा नेपाली बलर मोहम्मद आदिल आलमले दुई विकेट लिएपछि उक्त खेल टाई हुन पुगेको हो।

 अन्तिम ओभरमा अमेरिकालाई ६ बलमा ६ रन आवश्यक थियो। क्रिजमा थिए, आरोन जोन्स र राहुल जरिवाला। जोन्सले २४ बलमा २४ रन बनाएका थिए भने जरिवालाले १३ बलमा ८ रन बनाएका थिए। 

त्यस्तो अवस्थामा अमेरिका जित नजिक थियो। करण केसी र सोमपाल कामीको ओभर पनि बाँकी थियो। तर, कप्तान सन्दीपले डेब्यू गरेका आदिल अन्सारीलाई विश्वास गरे। अन्तिम ओभर आदिलले गरेका थिए। कप्तानको विश्वासलाई आदिलले सही सावित गरिदिए। डेब्यू गरेका आदिले नेपालका लागि यादगार ओभर बलिङ गरे। उनले पाँच रनमात्र दिएर दुई विकेट लिए। खेल बराबरीमा सकियो। हार नजिक रहेको नेपाल एक अंक खोस्न सफल भयो। 

आदिलले पहिलो तीन बलमा १/१ रन दिए। चौथोमा ‘नो बल’ फाले। फेरी १ मात्र दिए। त्यसपछि पाँचौं र छैटौं बलमा लगातार विकेट लिएपछि नेपाल हारबाट जोगिएको हो। 

आदिलले ९ ओभरमा ४५ रन दिएर ३ विकेट लिए । त्यसअघि उनले ब्याटिङतर्फ पनि २४ बलमा ३ चौका र दुई छक्कासहित ३६ रन बनाएका थिए। उनै आदिल ‘म्यान अफ द म्याच’ भए। 

अमेरिकामा टेक्ससको ह्युस्टनस्थित मुसा क्रिकेट मैदानमा आसिफ शेख, देब खनाल र रोहितकुमार पौडेलले अर्धशतक बनाएपछि नेपालले शनिबार राती आईसीसी क्रिकेट विश्वकप लिग-२ मा अमेरिकालाई जितका लागि २७५ रनको लक्ष्य पेश गरेको थियो। नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए। त्यसपछि ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर २७४ रन बनाएको हो। अमेरिकाले पनि ५० ओभरमा ६ विकेट गुमाएर २७४ रन नै बनाएपछि खेल बराबरी भएको हो। 

खेल टाई भएपछि अमेरिकाले २२ खेलबाट २१ अंक जोडेको छ भने नेपालले १४ खेलबाट १३ अंक जोडेको छ। ३४ खेलबाट ४२ अंक जोडेको ओमान शीर्ष स्थानमा रहेको छ । अमेरिकामा जारी त्रिदेशीय शृंखलामा नेपाल पहिले खेलमा ओमानसँग १३ रनले पराजित भएको थियो भने अमेरिकाले ओमानलाई ११४ रनले हराएको थियो। 

अमेरिकाका ओपनर स्टेभन टेलरले सबैभन्दा धेरै ११४ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन्। टेलरले पहिलो विकेटका लागि सुशान्त मोदानीसँग २६ र दोस्रो विकेटका लागि मोनांक पटेलसँग २०० रनको साझेदारी गरेका थिए। त्यस्तै टेलरले तेस्रो विकेटका लागि जोन्ससँग पनि ११ रनको साझेदारी गरे। 

मोदानीले १७ र पटेलले ८५ रन बनाए भने टेलरले १२३ बलमा ११ चौका र ३ छक्कासहित ११४ रन बनाएका थिए। जोन्सले २६ रन बनाए। जगानन्द सिंहले ४ रन बनाए भने जरिवालाले १० रन जोडेका थिए। 

नेपालका आदिलले ३ विकेट लिए भने सोमपाल कामी र सन्दीपले १/१ विकेट लिएका थिए। 

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालका लागि रोहितकुमारले सबैभन्दा धेरै ६२ रन बनाए। आसिफले ६१ रन बनाउँदा देबले ५४ रन बनाए। डेब्यू गरेका आदिल अन्सारीले ३६ ,कुशल भुर्तेलले १९ , कप्तान सन्दीप लामिछानेले १०,आरिफले ८ रन बनाएका थिए। दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र सुशन भारीले १ रन बनाउँदा करण केसी शुन्यमा पवेलियन फर्किए भने सुशन अविजित रहे। 

अमेरिकाका रुस्टी थेरोनले ४ विकेट लिए। अली खान र सौरभ नेत्रभालकरले समान २ विकेट लिए। निसार्ग पटेल र यासिर मोहम्मदले नाममा १/१ विकेट रह्यो। 

सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो। अमेरिकाले भने पहिलो खेलमा ओमानलाई हराएको थियो।

अब नेपालले तेस्रो खेलमा ओमानविरुद्ध मंगलबार र अन्तिम खेलमा अमेरिकाविरुद्ध बुधबार खेल्ने छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×