मनाङ - स्थानीय तह निर्वाचनमा हिमालपारिको जिल्ला मनाङमा २१० जनाले उम्मेदवारी दर्ता गराएका छन्। चार गाउँपालिकामा आइतबार र सोमबार गरी कूल २१० जनाले विभिन्न पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्। ङिस्याङ गाउँपालिकामा ७३, चामे गाउँपालिकामा ४२, नासोँ गाउँपालिकामा ६८ र नार्पाभूमि गाउँपालिकामा २७ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले जानकारी दिए।
यस्तै चार गाउँपालिकामा अध्यक्ष पदका लागि नौ जना र उपाध्यक्षमा आठ जनाले उम्मेदवारी दिएका छन्। निर्वाचन कार्यालय मनाङका अनुसार जिल्लामा वडाध्यक्ष पदका लागि ४८, महिला वडा सदस्यमा ४१, दलित सदस्यमा २२ र खुला सदस्य पदमा ८२ जनाले उम्मेदवारी मनोनयन गराएका छन्।