काठमाडौँ - नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरका ४३ करोड थान नोट छाप्ने भएको छ। केन्द्रीय बैंकले नोट छपाइका लागि अन्तर्राष्ट्रिय बोलपत्र (टेन्डर) आह्वान गरेको छ।
राष्ट्र बैंकले ४ खर्ब ३० अर्ब रुपैयाँ नोट छपाइका इच्छुक कम्पनीले डिजाइन, प्रिन्ट र वितरणको प्रस्ताव बैंकमा ३० दिनभित्र पेस गर्न आह्वान गरेको छ। बैंकले यी नोट आगामी ३ वर्षका लागि पुग्ने गरी छाप्न लागेको हो। ३ वर्षअघि मात्रै बैंकले ४० करोड थान नोट छापेको थियो।
नेपाली नोटहरूको छपाइको जिम्मा प्रायः चिनियाँ कम्पनीले हात पार्दै आएको छ। यसअघि चिनियाँ कम्पनी चाइना प्रिन्टिङ एन्ड मिन्टिङ कम्पनीले ५ र १० रुपैयाँका नोट छाप्ने ठेक्का पाएको थियो।
के-के छ प्रक्रिया?
नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागले अर्थतन्त्रको आकार, विदेशी मुद्राको सञ्चिति, सुन, चाँदीलगायतका बहुमूल्य द्रव्यहरूको सञ्चिति र अन्तर्राष्ट्रिय मुद्राकोषमा रहेको एसडिआर सुविधालगायतको अध्ययनका आधारमा नोट छपाइको परिमाण तोकेर मुद्रा व्यवस्थापन विभागमा पठाउने गर्छ।
विभागले आवश्यक परिमार्जन संशोधन, मौज्दात रहेको नोट, बैंक तथा वित्तीय संस्थाले माग गरेको नोट, धुल्याउने नोट, टेन्डर प्रक्रिया तथा सार्वजनिक खरिद ऐन तथा नियमावली र गभर्नरको हस्ताक्षरसहितका प्रक्रिया पूरा गरेर राष्ट्र बैंक सञ्चालक समिति प्रस्तुत गर्छ।
सञ्चालक समितिले अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखा हुँदै मन्त्रिपरिषद्मा नोट निष्कासनका लागि प्रस्ताव पठाउँछ। मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि मात्रै नोट छपाइ सुरु हुने गर्छ। मन्त्रिपरिषद्ले नै नोटको ‘सेक्युरिटी फिचर’ (नोटमा प्रयोग हुने निसान, छाप, आकार, प्रकार जनावर, हिमाल तथा नोटको गुणस्तर, असली र नक्कली नोट छुट्याउनका लागि प्रयोग हुने वाटरमार्क) सम्बन्धी आवश्यक निर्णय गर्छ। नेपालमा नोटको छपाइ नहुने भएकाले नेपाल राष्ट्र बैंकले ग्लोबल टेन्डर आह्वान गरी सबैभन्दा कम मूल्यमा नोट छाप्ने कम्पनीलाई छपाइका लागि अनुमति दिने गर्छ।
कति लाग्छ खर्च?
०७६ मा राष्ट्र बैंकले १ हजार रुपैयाँका नोट छाप्न चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङसँग असोज १२ मा सम्झौता गरेको थियो। त्यतिवेला एक हजारको एउटा नोट छाप्न तीन रुपैयाँ ३७ पैसा लाग्ने भएको थियो। बैंकले नोट छाप्न चिनियाँ कम्पनीसँग ९१ लाख ९० हजार अमेरिकी डलरमा सम्झौता भएको थियो।