काठमाडौँ - बिस्का जात्राको अवसर पारेर ओस्ला नेपालले मध्यपुर थिमिमा छैटौं उपत्यकाव्यापी धिमेबाजा प्रतियोगिता आयोजना गर्ने भएको छ।
ओस्ला नेपालले आज मध्यपुर थिमिमा आयोजना गरेको पत्रकार सम्मेलनमा ओस्ला नेपालका अध्यक्ष राजेश श्रेष्ठले यही चैत २६ गते उपत्यकाव्यापी धिमेबाजा प्रतियोगिताको आयोजना गर्ने बताए। प्रतियोगितामा उपत्यकाका ३५ देखि ४० धिमे खलः तथा पुचः को सहभागिता रहने जनाउँदै उनले एउटा खलः तथा पुचःबाट बढीमा दुई टोलीसम्मले प्रतियोगितामा भाग लिन पाउने व्यवस्था गरिएको बताए। एउटा टोलीमा धिमे दुई, भुस्या दुई र छुस्या वा अन्य बाजा एक गरी बढीमा पाँचजना वाद्यवादकको सहभागिता रहने प्रतियोगितामा प्रतिस्पर्धीलाई पाँच मिनेटको समय दिइने उनले जानकारी दिए।
पत्रकार सम्मेलनमा ओस्ला नेपालका उपाध्यक्ष एवं संयोजक सुशील जोशीले प्रतियोगितामा प्रथम हुनेलाई रु. २५ हजार, दोस्रोलाई रु. १५ हजार र तेस्रोलाई रु. १० हजारसहित प्रथम, दोस्रो र तेस्रो हुनेलाई शिल्ड, मेडल र प्रमाणपत्र तथा दुई टोलीलाई सान्त्वना पुरस्कारस्वरुप मेडल, शिल्ड र प्रमाणपत्र प्रदान गरिने बताए। सहभागी सबै टोलीलाई पनि मेडल र प्रमाणपत्र प्रदान गरिने उनले जानकारी दिए। ओस्लाका सचिव रोशन बज्राचार्यले प्रतियोगिताका साथै लोपोन्मुख अवस्थामा पुगेको हरेक जात्रा एवं पर्वमा बजाउनै पर्ने नायोखिं बाजा प्रशिक्षणसमेत सञ्चालन गरिने बताए।
कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले नगरपालिकाले सम्पदाहरूको पुनःनिर्माणसँगै यहाँको मूर्त तथा अमूर्ल कला, संस्कृतिको संरक्षण गर्ने, बाजाको संरक्षण गर्ने कार्यलाई पनि निरन्तरता दिँदै आएको बताए। नायोखिं बाजा निश्चित एक जापिले मात्रै बजाउने परम्परा हुँदा बाजा र परम्परा नै लोप हुने अवस्थामा पुगेको भन्दै उनले यो बाजा र परम्पराको संरक्षणका लागि अरू जाति र विविधता ल्याएर बाजाको प्रशिक्षण गर्न लागेको बताए।