सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीप एमेच्योर सदभावलाई उपाधि, प्रो भुवन सात स्ट्रोकले पराजित

काठमाडौं - प्रोफेसनल गल्फर भुवन नगरकोटीलाई सात स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै एमेच्योर सदभाव आचार्यले सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीपको उपाधि जितेका छन ।

अन्तिम दिन ३–अन्डर ६९ को स्कोर सहित समग्रमा १४–अन्डर २ सय ७४ सहित सदभावले तेस्रो पटक टुरको प्रो र एमेच्योर दुवैतर्फको उपाधि आफ्नो नाममा लेखाए । यो सिजन उनले जितेको यो दोस्रो उपाधि हो । जारी सिजन दुई उपाधि जित्ने उनी मात्रै हुन । यसअघि उनले यो सिजन सूर्य नेपाल सेन्ट्रल ओपन र गत सिजन सूर्य नेपाल च्यालेन्जको उपाधि जितेका थिए । अन्तिम १८ होलको सुरूवातमा प्रो भुवन र सदभावबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएपनि भुवनले ३–ओभर ७५ को खराब प्रदर्शन गरे । समग्रमा ७–अन्डर २ सय ८१ सहित दोस्रो भए। प्रोतर्फ भने उनी पहिलो हुँदै १ लाख ४० हजार हात पार्न सफल भए । 

एमेच्योर खेलाडीहरूको दबदबा रहँदा अर्का एमेच्योर विजय श्रेष्ठ आइन्हाउस र प्रो निरज तामाङले संयुक्तरुपमा तेस्रो स्थान बाँडे । उनीहरूले समग्रमा ४–अन्डर २ सय ८४ मा खेल सकाए । आज विजयले १–अन्डर ७१ र निरजले २–अन्डर ७० को प्रदर्शन गरे । प्रोतर्फ दोस्रो भएका निरजले ९६ हजार प्राप्त गरे ।  समग्रमा इभन–पार २ सय ८८ मा खेल सकाएका दिनेश प्रजापति प्रोतर्फ तेस्रो भए । उनले आज ३–ओभर ७५ मा खेल सकाए । तेस्रो भएका उनले ७२ हजार नगद हात पारे । यसैगरी समग्रमा ४–ओभर २ सय ९२ सहित सञ्जय लामा र धन बहादुर थापाले प्रोतर्फ संयुक्तरुपमा चौथो स्थान बाँडे । सञ्जयले २–ओभर ७४ र धनले १–अन्डर ७१ को स्कोर निकाले। उनीहरूले जनही ५४ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे । 

रवि खड्काले आज २–ओभर ७४ को स्कोर सहित समग्रमा ५–ओभर २ सय ९३ सहित छैटौं स्थानमा प्रतियोगिता सकाए । छैटौं भएका उनले ४२ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे । यसैगरी समग्रमा ७–ओभर २ सय ९४ सहित रामे मगर र भुवन कुमार रोक्काले संयुक्तरुपमा सातौं स्थान बाँडे । दुवैले आज २–ओभर ७४ मा खेल सकाए। उनीहरूले जनही ३७ हजार २ सय ५० नगद हात पारे । 

धरानका दुई प्रो युवराज भुजेल र बलभद्र राईले समग्रमा ११–ओभर २ सय ९९ सहित नवौ स्थान बाँड्दा जनही ३२ हजार नगद हात पारे। युवराजले आज ८–ओभर ८० र बलभद्रले ४–ओभर ७६ मा खेल सकाए । प्रो भुवन र सदभावबीच आज खेलको सुरुवात गर्दा सदभावसँग मात्र एक स्ट्रोकको अग्रता रहेको थियो । तेस्रो होलमा भुवनले बर्डी प्रहार गर्दै खेल बराबरीमा ल्याएका थिए । तर छैटौं होलमा भुवनले बोगी प्रहार गर्दा सदभावले एक सट बचाए । छैटौं होलको समाप्तीमा सदभावले दुई स्ट्रोकको अग्रता बनाए । टर्निङ प्वाइन्ट भने सातौं होल बन्यो । 

भुवनले दोस्रो सट पोखरीमा खस्यो। त्यहाँबाट हानेको प्रहार पुनः पानीमै पुग्यो । र उनले यो होलमा डबल बोगी खेप्दा सदभावले चार स्ट्रोकको अग्रता बनाए । यसपछि आठौं र नवौं होलमा फेरि एक–एक सट गुमाउँदा भुवनले फ्रन्ट नाइन ४–ओभर ४० मा सकाए। सदभावले १–अन्डर ३५ मा फ्रन्ट नाइन पुरा गरे । फ्रन्ट नाइन सकिंदा सदभावले भुवनलाई ६ स्ट्रोकले पछि पारिसकेका थिए । बोगी रहित खेलेका सदभावले १२ औं र १७ औं होलमा बर्डी प्रहार गरे र ब्याक नाइन २–अन्डर ३४ मा सकाए । यसरी सहजै सदभाव च्याम्पियन बन्दै फेरि एक पटक प्रो गल्फरहरूलाई माथ दिन सफल रहे । 

लगातार तीन दिनका लिडर भुवनले अन्तिम दिन संघर्ष गरे र ब्याक नाइन १–अन्डर ३५ मा सकाए। १३ औं, १४ औं र १८ औं होलमा बर्डी प्रहार गरे भने १५ औं र १६ औं होलमा एक–एक सट बचाए। यसरी भुवनले समग्रमा दोस्रो र प्रोतर्फ पहिलो स्थान प्राप्त गरे । 

एमेच्योर विजयले टुरमा करियरकै उत्कृष्ट प्रदर्शन गरे । उनले फ्रन्ट नाइन इभन–पार ३६ मा सकाए । पहिलो र पाँचौं होलको बोगी विरूद्ध तेस्रो र सातौं होलमा एक–एक सट बचाए । यसपछि ११ औं होलको बर्डीले ब्याक नाइन १–अन्डर ३५ मा सकाए । सूर्य नेपाल गल्फ टुरमा उनी पहिलोपट एमेच्योरतर्फ दोस्रो भए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×