नयाँ सिजनमा मेसी लयमा फर्किने विश्वास

काठमाडौँ - गत वर्ष लियोनल मेसीले स्पेनिस क्लब बार्सिलोना छाड्दै पेरिस सेन्ट जर्मेन (पिएसजी) मा भित्रिए। मेसीको आगमनसँगै पिएसजीले युरोपियन फुटबलमा उचाइ लिने विश्वास गरेको थियो। दुई दशक बार्सिलोनामा एकनासको प्रदर्शन गरेका मेसीले पिएसजीमा भने त्यही स्तरको प्रदर्शन गर्न सकेनन्। 

उनले पिएसजीमा पहिलो सिजन बिताउँदा केबल ६ गोल गरेका छन्। यद्यपि, पिएसजीका अध्यक्ष नासेर अलले मेसीले आउने नयाँ सिजनमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन्। मेसीले पहिलो सिजन १४ असिस्ट गरेका थिए। पिएसजीले फ्रेन्च लिग वान उपाधि जिते पनि समर्थकहरू मेसीको प्रदर्शनबाट खुसी बनेका छैनन्। महँगो रकम खर्चिएर भित्राएका स्टार खेलाडीले अनपेक्षित रूपमा खराब प्रदर्शन गरेका कारण नै समर्थक रिसाएका हुन्। 

पिएसजीका अध्यक्ष नासेर अलले समर्थकको चित्त बुझाउन नै मेसीले नयाँ सिजनमा उत्कृष्ट प्रदर्शन गर्ने बताएका हुन्। ‘मेसीको वास्तविक खेल आउने सिजनमा हामी सबैले देख्न पाउनेछौँ,’ मेसीमाथि विश्वास गरेका नासेर अलले भने, ‘सम्भवतः पहिलो सिजनमा मेसी सेट हुन पाएनन्।’ ३५ वर्षीय मेसीले सातपटक बालोन डिअर उपाधि जितेका छन्। विश्व कीर्तिमानी रूपमा बालोन डिअर उपाधि जितेका मेसीको प्रदर्शनमाथि शंका नगर्न नासेर अलको भनाइ रहेको छ। 

‘हामी कसैले पनि मेसीको प्रदर्शनमा शंका गर्न मिल्दैन, मेसी यो समयकै उत्कृष्ट खेलाडी हुन्।’ २० वर्ष बार्सिलोनासँग आबद्ध भएका मेसी पेरिसमा आउँदा केही असहज वातावरणको सामना गरेको पिएसजीका अध्यक्ष नासेर अलले जनाएका छन्।

‘२० वर्षदेखि एकै स्थान र क्लबमा प्रतिस्पर्धा गरेका खेलाडी एकैपटक नयाँ सहर र क्लबमा आउँदा केही अप्ठेरो सामना गर्नुपर्छ, मेसीले पनि यस्तै परस्थिति सामना गरेको हुनुपर्छ,’ उनले भने, ‘फेरि कोरोना भाइरसबाट संक्रमित भएपछि मेसी केही समय अस्वस्थ रहे।’ 

विभिन्न परस्थितिविरुद्ध लडिरहेका मेसी नयाँ सिजनमा एक प्लेमेकर खेलाडीका रूपमा पिएसजीमा देख्न पाउने नासेर अलले बताए। ‘मेसीसँग सम्झौता गरेको १२ महिना मात्र भएको छ, पेरिसको नयाँ संस्कृति र समर्थकसँग भिज्न समय लाग्छ, यसकारण हामी सबैले प्रतीक्षा गर्नुपर्छ,’ मेसीमाथि सद्भाव राख्दै नासेरले भने, ‘हामी सबैलाई विश्वास छ, मेसीको आत्मविश्वास बलियो छ।’ उनले भने।

पिएसजीमा अनुबन्ध भएपछि मेसीले पहिलो गोल २ महिनापछि गरेका थिए। च्याम्पियन्स लिगमा उनले पिएसजीका लागि पहिलो गोल गरेका थिए। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×