काठमाडौँ - डेनमार्कका प्रशिक्षक कास्पर हुजलमन्डले आफ्नो टिमलाई डिफेन्डिङ च्याम्पियन फ्रान्सको शनिबार सामना गर्दा कुनै डर नभएको दाबी गरेका छन्। यसै वर्ष नेसन्स लिगमा डेनमार्कले फ्रान्सलाई २ पटक हराइसकेको छ।
यसपल्टको विश्वकपको आफ्नो उद्घाटन खेलमा भने डेनमार्कले ट्युनिसियासँग गोलरहित बराबरी खेलेको थियो। डेनर्माकले अहिले पनि फ्रान्सलाई हराउने हो भने समूह ‘डी’ बाट अगाडि बढ्ने सम्भावना बलियो रहनेछ।
डेनमार्कले अर्को खेलमा अस्ट्रेलियाको सामना गर्नेछ। हुजलमन्डले शुक्रबार पत्रकार सम्मेलनमा भनेका छन्, ‘पहिलो खेलको बराबरीपछि हाम्रा लागि निकै महत्त्वपूर्ण खेल अगाडि आएको छ। हाम्रो प्रतिद्वन्द्वी निकै अब्बल दर्जाको छ र उसको परिचय विश्वकपको पछिल्लो विजेता पनि हो। फ्रान्सेली फुटबल टिममा जति प्रतिभाशाली खेलाडी छन्, त्यो निकै लोभलाग्दो छ। मेरो यो टिमप्रति धेरै प्रशंसा पनि छ। तर हामी आफैं कति बलियो छौं भनेर पनि थाहा छ।’
युरो २०२० को सेमिफाइनलसम्म पुगेको डेनमार्कले फ्रान्सलाई नेसन्स लिग घर बाहिर र भित्र पराजित गरेको थियो। कतारमा पनि डेनमार्क ‘डार्क हर्स’ को रूपमा रहेको छ। रुसमा भएको ४ वर्षअगाडिको पछिल्लो विश्वकपमा पनि यी २ टिम लिग चरणमा भिडेका थिए। त्यसको नतिजा गोलरहित रहेको थियो। हुजलमन्ड भन्छन्, ‘हामीले आफ्नो उत्कृष्ट खेल प्रदर्शन गर्ने हो भने फ्रान्सविरुद्ध राम्रो नतिजा निस्कने सम्भावना धेरै छ।’
उनी थप्छन्, ‘त्यसैले हामीले यो खेलमा राम्रो गर्नुपर्छ र अगाडि गन्तव्यतर्फ अग्रसर हुनुपर्छ।’ फ्रान्सले चोटका कारण बालोन डी’अर विजेता करिम बेन्जेमालाई गुमाइसकेको छ। फ्रान्सले उपाधि रक्षा गर्ने अभियान सुरु हुने संघारमै बेन्जेमालाई गुमाएको थियो। तर डिडियर डेसच्याम्पको टिमले अस्ट्रेलियालाई सजिलै ४-१ ले हराएको थियो। त्यसमा ओलिभर जिरोडले २ गोल गरेका थिए। उनले फ्रान्सका लागि थिएरी हेनरीको नाममा रहेको सर्वाधिक गोलको कीर्तिमान बराबरी गरेका थिए।
त्यस खेलमा केलियन एमबाप्पेले १ गोल गर्दै अर्को गोलमा सहयोगी भूमिका पनि निभाएका थिए। एमबाप्पेविरुद्ध सम्भाविन रणनीतिबारे प्रशिक्षक हुजलमन्डले भने, ‘कोही कसैबारे डराउनु ठीक हुन्न। फ्रान्सविरुद्ध पछिल्लो सेप्टेम्बरमा कोपनहेगनमा खेल्दा हामीले राम्रो योजना बनाएका थियौं र खेलका क्रममा दुई तीन राम्रा अवसर पनि बनाउन सक्यौं। एमबाप्पे जत्तिको विश्वस्तरीय खेलाडीका लागि कुनै योजना बनाएर रोक्न सकिन्न। उनलाई चुप राखेर राख्न सकिन्न।’
उनी थप्छन्, ‘हामी एमबाप्लेले सजिलो मौका नपाओस भन्ने मात्र हो। उनले आफूले चाहेअनुसार खेल्न नसकोस् भन्ने मात्र हो।’ डनेमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सनले ट्युनिसियाविरुद्धको खेलमा पूरा ९० मिनेट खेलेका थिए। युरोमा भएको मैदानमै भएको कार्डिक आक्रामणपछि एरिक्सन पहिलो ठूलो प्रतियोगिता खेलिरहेका छन्। खेलकै क्रममा मैदानमा ढलेका एरिक्सन अहिले भन्छन्, ‘यो त धेरै पुरानो कुरा जस्तै भयो, चर्चा अहिले म जे जस्तो खेलाडी छु, त्यसबारे हो। फेरि पनि फुटबल खेल्न पाएकोमा म खुसी छु।’