काठमाडाैं । दुग्ध विकास संस्थान र अन्य डेरीहरूले दूध र दुग्ध उत्पादनको मूल्य बढाउने भएका छन् । दूधको मूल्य प्रतिलिटर ८ देखि १० रुपैयाँसम्म बढाउने तयारी गरिएको छ ।
दूध र दुग्ध उत्पादनको मूल्य निर्धारण तथा नियन्त्रणमा मुख्य भूमिका निर्वाह गर्दै आएको राष्ट्रिय दुग्ध विकास बोर्डमा दूध र दुग्ध उत्पादनको मूल्यवृद्धि गर्ने विषयमा प्रारम्भिक छलफल भइसकेको छ।
बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादवले बोर्डमा दूध र दुग्ध उत्पादनको मूल्य वृद्धि गर्ने विषयमा प्रारम्भिक छलफल भएको पुष्टि गरे । संस्थानले अहिले ३ फ्याट भएको स्ट्यान्डर्ड दूध प्रतिलिटर ७६ रुपैयाँ, ५ फ्याट भएको दूध प्रतिलिटर ९२ र होलमिल्कलाई प्रतिलिटर १ सय रुपैयाँमा बिक्री गरिरहेको छ ।
केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष नारायण देवकोटाले दूध उत्पादनका सबै मालवस्तु र गाईको मूल्यसमेत वृद्धि भइसकेको सन्दर्भमा किसानले पाउने दूधको मूल्यमा वृद्धि हुनुपर्ने जिकिर गर्नुभयो । अध्यक्ष देवकोटाले कच्चा दूधको मूल्यमा न्यूनतम प्रतिलिटर १० रुपैयाँले वृद्धि हुनुपर्ने माग गरे।
देशभरका ५ लाख परिवार पशुपालन र दुग्ध उत्पादनका पेसामा आबद्ध छन्। त्यस्तै १ हजार ८ सय ७२ दुग्ध सहकारी संस्थान सञ्चालनमा छन् । सहकारीले दैनिक ७ देखि ९ लाख लिटर कच्चा दूध प्रशोधनका लागि निजी तथा सरकारी डेरीलाई दिँदै आएका छन्।