गलकोट - लागु औषध दुर्व्यसनी तथा जुवा तासजस्ता सामाजिक अपराध न्यूनीकरणमा प्रहरीले सक्रियता बढाएको छ।
पछिल्लो समय सामाजिक अपराध न्यूनीकरणमा जिल्ला प्रहरी कार्यालयले सक्रियता बढाएको हो। विगत तीन दिनको अवधिमा प्रहरीले १२२ एम्पुल लागु औषध, ३७ हजार नगदसहित चार जनालाई पक्राउ गरिएको छ भने अवैध नदी दोहन गर्ने चार ट्याक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए।
बागलुङ नगरपालिका–९ तित्याङ घर भई बागलुङ बजारको रामरेखास्थित कोठाबाट प्रहरीले फेनारगन १४, डाइजेपाम १४ र नुरफिन १३ गरी कुल ४१ एम्पुल लागु औषधसहित रोशन थापालाई पक्राउ गरिएको छ।
यसै गरी लुकाएर राखिएको अवस्थामा प्रहरीले फेनारगन २७, डाइजेपाम २७ र नुरफिन २७ गरी कुल ८१ एम्पुल लागु औषधसहित बागलुङ नगरपालिका–४ का अभिनाश बोहोराले पक्राउ गरिएको छ।
यस्तै बागलुङ नगरपालिका–१ कालिका मन्दिर गेटमा स्वीकृतबिना लक्की सेभेन स्केल (डार्ट) खेल खेलाउनका लागि विभिन्न बोर्ड सङ्कलन गरिराखेको अवस्थामा प्रहरीले लामा र मनबहादुर हर्मेललाई ३७ हजारसहित पक्राउ गरेको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए। प्रहरीले यस्तो खेललाई जुवा मान्दै आएको छ।
पछिल्लो समय जिल्लामा जुवातास खेलाउने गिरोह बढिरहेको जनगुनासो आएपछि सूक्ष्म रणनीति योजना बनाएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिए।
उनका अनुसार गत शुक्रवार अवैधरुपमा काली गण्डकी नदीबाट नदीजन्य पदार्थको ढुवानी गर्ने चार ट्याक्टरलाई नियन्त्रणमा लिएर कारबाहीका लागि बागलुङ नगरपालिकामा पठाइसकेको छ।
हालै मात्र सरुवा भएर बागलुङ आउनुभएका प्रहरी उपरीक्षक ज्ञवालीले आफूले शान्ति सुरक्षामा कुनै कसुर बाँकी नराख्ने बताए।