काठमाडौँ - बलिउड कलाकारद्वय अली फजल र ऋचा चड्ढा विवाह बन्धनमा बाँधिने भएका छन्। मिडिया रिपोर्टका अनुसार ७ वर्षदेखि एकअर्कालाई डेट गरिरहेका २ जनाले आगामी अक्टोबरमा विवाह गर्न लागेका हुन्।
उनीहरूको विवाह अघिको उत्सव भने यही महिनादेखि सुरु हुने भारतीय सञ्चारमाध्यमहरूले जानकारी दिएका छन्। यसअघि २ जनाले सन् २०२० मा नै विवाह गर्ने योजना बनाएका थिए। तर, कोभिडका कारण उनीहरूको योजना रोकिएको थियो।
ईटाम्सको रिपोर्टअनुसार आगामी ६ अक्टुबरमा उनिहरुको विवाह हुँदैछ। ७ अक्टुबरमा मुम्बईमा रिसेप्सन राखिएको छ। विवाह अघिको उत्सव भने दिल्लीमा ३० सेप्टेम्बरदेखि २ अक्टोबरसम्म मनाइनेछ।
ऋचा र अलीको पहिलो भेट सन् २०१२ मा फुकरेको सेटमा भएको थियो। रिपोर्टका अनुसार ऋचाले नै अलीलाई प्रपोज गरेकी थिइन्। ऋचाको प्रेम प्रस्तावको जवाफ दिन अलीलाई ३ महिना लागेको थियो। २ जनाले आफ्नो सम्बन्ध लगभग ५ वर्षसम्म गोप्य राखेका थिए। २ जनाले भिक्टोरिया और अब्दुलको प्रिमियरमा आफ्नो प्रेमको खुलासा गरेका थिए।