काठमाडौँ - न्युजिल्यान्डका बलर माइकल ब्रेसवेलले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ कीर्तिमान बनाएका छन। ब्रेसवेलले टी-२० करियरको पहिलो ओभरमै हेट्रिक लिएका हुन् -। उनी यो छोटो फरम्याटमा यस्तो उपलब्धि हासिल गर्ने विश्वका पहिलो बलर भएका छन्।
हुन त बे्रेसवेलले टी-२० मा दुई खेल खेलिसकेका छन्। तर, बलिङ भने गरेका थिएनन्। आयरल्यान्डविरुद्ध बलिङ गर्दा उनले पहिलो ओभरमै विकेट लिए। उनले ५ बलमा ५ रन दिएर ३ विकेट हासिल गरेका हुन्। १३.२ ओभरसम्म ७ विकेटका लागि ९१ रन बनाएको आयरल्यान्डको पूरै टोली यसै ओभरमा अलआउट भएको थियो। योसँगै न्युजिल्यान्ड ३ खेलको टी-२० सिरिज जित्न सफल भएको छ।
ब्रेसवेलकोले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पनि शानदार प्रदर्शन दर्शाइसकेका छन्। उनले आयरल्यान्डविरुद्धको वानडे सिरिजअन्तर्गत पहिलो खेलमा १ सय २७ रनको नटआउट इनिङ खेलेका थिए।
उनले अन्तिम र ५०औं ओभरमा ५ छक्का प्रहार गरेर टोलीलाई जित दिलाएका थिए। जबकी टोलीको लागि अन्तिम ६ बलमा २० रनको आवश्यक थियो।
टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म ३५ बलरले हेट्रिक गरिसकेका छन्। यसमा श्रीलंकाबाट सबैभन्दा बढी ४ जना बलरले हेट्रिक गरेका छन्। उनीहरू परेरा, लासिथ मालिंगा, धनंजया र डिसिल्भा हुन्।
२०२१-२२ को सिजनमा सबैभन्दा १० हेट्रिक आएको थियो। जारी सिजनमा भने ७ हेट्रिक आइसकेको छ। टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो हेट्रिक गर्ने बलर अस्टेलियाका फास्ट बलर ब्रेट ली हुन्। लीले २००७ को टी-२० विश्वकपमा बंगलादेशविरुद्ध लगातार ३ बलमा विकेट लिएर हेट्रिक पूरा गरेका थिए।