हेटौंडा - हेटौंडामा बस दुर्घटना हुँदा मृत्यु भएका दुईजनाको सनाखत भएको छ। मृत्यु हुनेमा झापाको दमक-५ मोडेल क्याम्पस नजिक बस्ने ६० वर्षीय दिल्लीबहादुर दर्जी र मोरङको बेलबारी नगरपालिका- ८ बस्ने ५१ वर्षीय कल्पना राजवंशी रहेको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिएका छन्।
काठमाडौंबाट झापाको दमक जान लागेको ना७ख २०३२ नम्बरको बस गएराति मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ स्थित खण्डमा आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा परी बसमा सवार ३६ जना घाइते भएका छन्। घाइतेमध्ये ३० जना उपचारपछि डिस्चार्ज भइसकेका छन्।
घाइते २ जनालाई थप उपचारका लागि काठमाडौं र ३ जनालाई भरतपुर पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। १ जनाको भने हेटौंडाको सञ्चो अस्पतालमा उपचार भइरहेको छ।