काठमाडौँ - इंग्लिस प्रिमियर लिगको क्लब वल्भरह्याम्पटन वान्डरर्सले स्पेनिस प्रशिक्षक जुलेन लोपेटेगुइलाई आफ्नो नयाँ प्रशिक्षकको रुपमा अनुबन्ध गरेको छ।
स्पेनका ५६ वर्षीय प्रशिक्षक लामो समयको छलफलपछि टोलीको जिम्मेवारी सम्हाल्न राजी भएका हुन्। वल्भ्सले गत महिना नै पोर्चुगलका ब्रुनो लाजलाई बर्खास्त गरेको थियो। वल्भ्सको पहिलो प्रयासमा लोपेटेगुइले पारिवारिक कारण देखाउँदै आफू उपलब्ध हुन नसक्ने बताएका थिए। उनले आफ्नो पिताको नजिकै बस्न चाहेको बताएका थिए।
लाजको बर्खास्तीपछि स्टिभ डेभिस क्लबको कार्यवाहक प्रशिक्षक रहेका थिए। डेभिसले अब लोपेटेगुइको आगमन नहुन्जेलसम्म क्लब हेर्नेछन्। लोपेटेगुइ विश्वकप सुरु भएपछि क्लबमा आउनेछन्। उनले डिसेम्बर २६ मा एभर्टनविरुद्ध पहिलो अधिकारिक खेल हेर्नेछन्।
लोपेटेगुइ यसअघि सेभियाका प्रशिक्षक थिए। सेभियामा ३ वर्ष बिताएका उनले सन् २०२० मा युरोपा लिग उपाधि जितेका थिए। अक्टोबरमा सेभियाले बर्खास्त गरेपछि उनी क्लबविहिन रहेका थिए।
लोपेटेगुइ यसअघि स्पेनको राष्ट्रिय टोलीको प्रशिक्षक रहेका थिए। सन् २०१८ मा विश्वकप सुरु हुनुअघि नै रियल म्याड्रिडको प्रस्ताव स्वीकारेपछि उनले विश्वकपमा प्रशिक्षक पद छोड्नुपरेको थियो। उनलाई सन् २०१६ मा पनि वल्भ्सले प्रशिक्षक पदमा अनुबन्ध गर्न प्रयास चालेको थियो।