अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको शरणार्थी प्रक्रियालाई लामो समयका लागि रोक्ने संकेत दिएका छन्। एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै उनले अमेरिकामा ‘छिर्न नहुने धेरै मानिसहरू’ प्रवेश गरिरहेको र यसले देशको सुरक्षामा खतरा पैदा गरेको दाबी गरे।
हालै ह्वाइट हाउस नजिकै भएको गोलीकाण्डलाई जोड्दै ट्रम्पले अफगानिस्तानबाट आएका आप्रवासीले अमेरिकी सुरक्षामा चुनौती दिन सक्ने बताएका छन्। उक्त घटनामा एक अफगानी आप्रवासीलाई राष्ट्रिय गार्ड सारा बेकस्ट्रोमको हत्या आरोपमा पक्राउ गरिएको थियो, भने अर्का गार्ड एन्ड्रयू वोल्फ गम्भीर घाइते भएका थिए।
घटनापछि ट्रम्प प्रशासनले शरणार्थी तथा आप्रवासीहरूका लागि स्क्रिनिङ र सुरक्षा प्रक्रियाहरू अझ कडा बनाउने तयारी गरेको अमेरिकी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। ट्रम्पले “हामी अमेरिकामा त्यस्ता व्यक्तिहरू चाहँदैनौँ, जो देशका लागि खतरा बन्न सक्छन्,” भन्दै आप्रवासन प्रणाली कडा पार्ने संकेत दिए।
यस घटनाले अमेरिकी शरणार्थी नीति फेरि एकपटक विवादमा तानिएको छ र आगामी दिनमा ट्रम्प प्रशासनले कस्तो निर्णय लिन्छ भन्ने कुरातर्फ सबैको ध्यान केन्द्रित भएको छ।