बागमती प्रदेशस्तरीय खेलकुद हुँदै

काठमाडौँ - बागमती प्रदेशस्तरीय खेलकुद प्रतियोगिताका लागि चितवनमा जिल्लास्तरीय खेलाडी छनोटको काम भइरहेको छ।

चितवन जिल्ला खेलकुद विकास समितिका कार्यालयका प्रमुख रामजी ढकालका अनुसार हालसम्म ब्याडमिन्टन, एथलेटिक्स, बक्सिङ र भलिबल खेलका जिल्लास्तरीय खेलाडी छनोट सकिएको छ। विभिन्न आठ विधामा हुने छनोट प्रतियोगितामध्ये माडी र इच्छाकामनाले एक-एक विधाका खेलाडी सहभागी गराएनन् भने रत्ननगर नगरपालिकाले पाँचवटा विधाको खेलकुदमा खेलाडी सहभागी नगराएको उनले बताए।

माडी नगरपालिकाले ब्याडमिन्टन, इच्छाकामना गाउँपालिकाले क्रिकेट तथा रत्ननगर नगरपालिकाले एथलेटिक्स, भलिबल, बक्सिङ, कराँते र फुटबलमा खेलाडी सहभागी गराएनन्। कार्यालय प्रमुख ढकालका अनुसार जिल्लास्तरीय प्रतियोगिताबाट ब्याडमिन्टनका छ महिला र छ पुरुष, एथलेटिक्सका १२ महिला  र १२ पुरुष, बक्सिङका आठ महिला र १३ पुरुष  तथा भलिबलका १२ महिला  र १२ पुरुष  खेलाडी छनोट भइसकेका छन्।

बुधबार र बिहीबार फुटबल, बिहीबार तेक्वान्दो र कराँते तथा शुक्रबार र शनिबार क्रिकेट खेलका खेलाडी छनोट गरिने भएको छ। कराँतेका १० महिला  र १० पुरुष, फुटबलका १८ महिला  र १८ पुरुष तेक्वान्दोका १३ महिला  र १३ पुरुष तथा क्रिकेटका १४ महिला  र १४ पुरुष खेलाडी छनोट गरेर प्रदेश प्रतियोगितामा सहभागी हुन पठाइने कार्यालय प्रमुख ढकालले बताए।

जिल्लाबाट छनोट भएका सबै खेलाडीले यही फागुन २८ देखि चैत ५ गतेसम्म हुने बागमती प्रदेशस्तरीय खेलकुदमा प्रतिस्पर्धा गर्नेछन्।हेटौँडामा उद्घाटन हुने सो प्रतियोगिताको समापन चितवनको माडीमा हुने बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य उत्तम गुरुङले जानकारी दिए।

चितवनमा प्रदेशस्तरीय खेलकुदका भलिबलसहित अन्य दुई खेल हुने बताइएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×