२७ भदौ, काठमाडौं । नेपालको कानून व्यवसायीहरूको सर्वोच्च संस्था नेपाल बार एसोसिएसनले संविधानको रक्षा र राजनीतिक निकास संविधानकै दायराभित्र खोजिनुपर्ने माग गर्दै शुक्रबार देशव्यापी प्रदर्शन गर्ने घोषणा गरेको छ।
नेपाल बार एसोसिएसनका अध्यक्ष डा. विजयप्रसाद मिश्रका अनुसार अहिलेको संवैधानिक संरचना नै देशलाई राजनीतिक संकटबाट बाहिर निकाल्ने माध्यम हो, त्यसैले सबै कानून व्यवसायीहरूले संविधान संरक्षणका पक्षमा एकजुट भएर सडकमा उत्रिने तयारी गरिएको हो।
यसै सन्दर्भमा केन्द्रीय बार पदाधिकारीहरूको आकस्मिक बैठकले शुक्रबार दिउँसो १ बजे देशभरका बार इकाइहरूले आफ्नो–आफ्नो स्थानमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ। साथै, राजधानीमा भने बेलुकी ५ बजे कर्फ्यूको अवधि सकिएपछि रामशाहपथस्थित नेपाल बार केन्द्रीय कार्यालयबाट ठूलो विरोध र्याली निकाल्ने योजना बनाइएको छ।
कानून व्यवसायीहरूले प्रदर्शनका क्रममा संविधान हातमा लिएर ऐक्यबद्धता प्रकट गर्नेछन्। बारका पदाधिकारीहरूको भनाइअनुसार यो कार्यक्रम संविधान र लोकतन्त्रप्रति जनताको विश्वास कायम गर्ने उद्देश्यले शान्तिपूर्ण ढंगले आयोजना गरिनेछ।
नेपाल बारले यसअघि राष्ट्रपतिलाई स्मरणपत्र बुझाउँदै हालको संविधानभित्रकै व्यवस्था, विशेषतः संसद्को क्रियाशीलता र संवैधानिक धारा ७६, ७७, ७८ र ६१ अनुसार राष्ट्रिय सरकार गठन गरी मुलुकलाई निकास दिन सकिने सुझाव दिएको थियो।
आन्दोलनरत जेन–जी समूहले समेत संविधान र व्यवस्था परिवर्तनको माग नगरेको भन्दै, वर्तमान संविधानभित्रै समाधान खोज्नुपर्ने धारणा राखेकाले नेपाल बारको आन्दोलनले थप सशक्त सन्देश दिने विश्वास लिइएको छ।