काठमाडौं । गृहमन्त्री रवि लामिछानेलाई निलम्वन गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा आज सुनुवाइ हुँदैछ । अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको रिट सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासमा पहिलो नम्बरमा पेशी तोकिएको छ ।
सहकारी ठगी प्रकरणमा जोडेर गृहमन्त्री लामिछानेलाई पदबाट निलम्बन गर्न रिटमा माग गरिएको छ । महान्यायाधीवक्ता कार्यालयले गृहमन्त्री लामिछानेलाई सहकारी ठगीमा ‘क्लिनचिट’ देखिने गरी पत्र दिएको थियो ।
उक्त पत्रमा लामिछानेका विरुद्ध कुनै पनि अदालतमा अभियोग नभएको र अनुसन्धान पनि नभएको भनिएको थियो । उक्त पत्र संसददेखि राजनीतिक दलको बैठकमा गृहमन्त्री लामिछानेले पेस गर्दै आफू कुनै पनि ठगीमा संलग्न नभएको जिकिर गरेपछि पत्र विवादमा परेको थियो ।
उक्त पत्रलाई पनि बदर गर्नुपर्ने र लामिछाने विरुद्ध कास्की जिल्ला अदालतमा पूरक जाहेरी परेको र अन्य अदालतमा पनि अभियोग पत्रमा नाम उल्लेख भएको दाबी गर्दै अधिवक्ता भट्टराईले निलम्बनको माग गरेका थिए ।
रिटमा एकल इजलासले कास्कीको जाहेरी माग गरेको थियो भने संयुक्त इजलासले जेठ २८ गते रुपन्देही जिल्ला अदालतमा दर्ता भएको अभियोगपत्र मगाएको थियो । बहसका क्रममा निवेदकहरूले उनी विरुद्धका सबै विवरण मगाउनुपर्ने भनी कुरा उठाएका थिए ।
इजलासले निवेदकका कानुन व्यवसायी र सरकारी वकिलको कुरा सुनेपछि रुपन्देहीको अभियोगपत्र माग गरेको थियो । आज हुने सुनुवाइले लामिछानेको गृहमन्त्री पद रहने वा नरहने भन्ने फैसला गर्नेछ ।